कर्णालीको फुटबल विकासका लागि सहयोग गर्न तयार छु : मुख्यमन्त्री शाही


कर्णालीको फुटबल विकासका लागि सहयोग गर्न तयार छु : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अखिल नेपाल फुटबल संघ (एन्फा) कप्लेक्सको मंगलबार अवलोकन, भ्रमण गरेका छन् ।

मुख्यमन्त्री शाहीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष क्षितिज पराजुली र उपेन्द्रमान सिंह तथा महासचिव इन्द्रमान तुलाधरले स्वागत गरेका थिए । भम्रणका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा फुटबल विकासबारे छलफल गरेका थिए । शाहीले कर्णाली प्रदेशमा एन्फाले कुनै पनि फुटबल विकासका लागि गर्ने कार्यमा सहयोग गर्ने बताएका छन् ।

“खेलकुद सबैलाई जोड्ने एउटा माध्यम हो । कर्णाली प्रदेशमा फुटबलको धेरै सम्भावना छ । एन्फाले कर्णाली प्रदेशमा कुनै पनि फुटबल विकासका कार्य गरे हामी सहयोग गर्न तयार छौं,” मुख्यमन्त्री शाहीले भने ।

मुख्यमन्त्री शाहीले आफू उच्च पर्वतीय खेलकुद पर्यटनका लागि पनि सकारात्मक रहेको पनि बताए । उनले उक्तखाले कुनै प्रतियोगिता भए पनि जानकारी गराउन सुझाए । यता एन्फा अध्यक्ष शेर्पाले कर्णाली प्रदेशमा फुटबल विकासका लागि एन्फाले ध्यान दिने बताए । उनले एन्फाका प्रशिक्षकहरुलाई कर्णालीमा फुटबलको सम्भावनाका विषयमा बुझ्‍न लगाउने पनि बताए ।