नेकपा (विप्लव समूह): के नेत्रविक्रम चन्द नेतृत्वको भूमिगत समूहबाट राज्यलाई अझै खतरा छ


लेखक : लेखापढी      ९ मंसिर २०७७, मंगलवार ०३:४० मा प्रकाशित     
नेकपा (विप्लव समूह): के नेत्रविक्रम चन्द नेतृत्वको भूमिगत समूहबाट राज्यलाई अझै खतरा छ

‘विप्लव समूह’ भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यो साता आफ्नो सातौँ पुनर्गठन दिवस मनाइरहेको छ।

राज्यले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको पृष्ठभूमिमा सो पार्टीका क्रियाकलापमाथि निगरानी राख्नु ‘स्वाभाविक’ नै भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत बताउँछन्।

विगतमा उक्त पार्टीले काठमाण्डू उपत्यकामै मान्छेको ज्यान जाने गरी बम विस्फोट गराएको दृष्टान्त पनि छ।

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीले ‘आफ्ना हिंसात्मक गतिविधि नसच्याए सरकारले नियन्त्रण गर्ने’ चेतावनी दिएका थिए।

हिंसात्मक गतिविधि गर्नेलाई वामपन्थीकै सरकार भए पनि ‘नछोडिने’ भन्दै प्रधानमन्त्रीले ‘मान्छे मार्ने गतिविधि गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने’ टिप्पणी गरेका थिए।

चन्दको पार्टीबाट कस्तो खतरा छ?

बेलाबखत ठाउँठाउँमा विस्फोट गराई भौतिक संरचनाहरूमा क्षति पुर्‍याउँदै आएको चन्द नेतृत्वको नेकपाबाट अझै सुरक्षा खतरा रहेकोमा नेपाल प्रहरीदेखि सुरक्षा मामिलाका जानकारसम्म सहमत देखिन्छन्।

तर सो पार्टीबाट ठूलै सुरक्षा खतरा चाहिँ नरहेको नेपाल प्रहरीका प्रवक्ता कडायतले बताएका छन् |

“हिजै [आइतवार सो समूहले] उदयपुरमा विस्फोट गराएको छ, चन्दाका कुरा पनि आइरहेका छन्।”

“जनतालाई धम्की दिने यस्ता कुरा पनि सुरक्षासँगै जोडिन्छन्। त्यसैले ठूलै मात्रामा सुरक्षा चुनौती त छैन तर सामान्य हिसाबले भन्दा पनि सुरक्षामा त्यसको केही असर त पर्छ नै,” उनले थपे।

चन्दको नेकपाबाट सुरक्षा खतराको तहबारे प्रवक्ता कडायतको भनाइसँग नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात पनि सहमत देखिन्छन्।

विप्लवको विस्फोटन
तस्बिरको क्याप्शन,

गत फागुनमा ललितपुरमा विप्लव नेतृत्वको नेकपाले गराएको बम विस्फोटनपछि घटनास्थलको अवस्था (फाइल तस्वीर)

“शान्ति सुव्यवस्थाका लागि चुनौती हो तर राष्ट्रिय सुरक्षामै खतराको रूपमा त्यसलाई म देख्दिनँ,”उनले भने।

पूर्वगृहसचिव सूर्य सिलवाल विद्यमान विधिसँग असहमति राख्ने कुनै पनि समूह वा पार्टी खतराको रूपमा रहने बताउँछन्।

“एकैजना मान्छेको पार्टीले केही समयसम्म अप्ठ्यारो पारेको अनुभव त हामीसँगै छ नि। त्यसो भएर सरकार अथवा उसका सुरक्षा अङ्गहरू सक्रिय हुनु वा सतर्क हुनु स्वाभाविक प्रक्रिया नै हो,”उनी थप्छन्।

ठूल्ठूला घटना [हिंसात्मक] नगराए पनि ससाना घटना गराएर राज्यलाई आफ्नो उपस्थिति जनाइरहने सम्भावनालाई नकार्न नसकिने पूर्वगृहसचिव सिलवालको ठम्याइ छ।

अडिओ क्याप्शन सुरु हुँदैछ,

हेमन्तप्रकाश ओली भन्छन्, ‘नख्खुमा विस्फोट हामीले नै गराएका हौँ’

दश वर्षसम्म सशस्त्र द्वन्द्वसँग जुझेको राज्यले अब कुनै पनि नाममा थप हिंसाका गतिविधि झेल्न नसक्ने सुरक्षा मामिलाका जानकारहरूको तर्क छ।

पूर्वगृहसचिव सिलवाल र नेपाली सेनाका पूर्वउपरथी बस्न्यात दुवैजना चन्द नेतृत्वको नेकपासँग सम्बन्धित अहिलेको समस्यालाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाउँछन्।