शहरहरू अब गरिब हुन थालेका छन् ।


लेखक : लेखापढी      २६ कार्तिक २०७७, बुधबार १२:३३ मा प्रकाशित     
शहरहरू अब गरिब हुन थालेका छन् ।

 

मन मुटु जोडिए झैँ टाँसिएर उभिएका
गगनचुम्बी, आलिशान महलहरू
नदीका दुई धार झैँ नजोडिएका सम्बन्ध बोकी
दौडिरहेछन् समयको प्रतियोगी बनेर
इर्षालु र हतास मनहरूको बिगबिगिमा
मृत मानवता र विवेक बोकेर
जीवनशैली र संस्कार हराएका
शहरहरू अब गरिब हुन थालेका छन् ।

 

नाक पोल्ने विषालु धुँवा, धुलोमा
बेचैनको सास फेरिरहेका
हरेक रात निर्निमेष सुताइमा
चर्को ध्वनिको कोलाहालले बिउझिएर
मस्त निदाइरहेको सपना पुरा गर्न
सधैं भौतारि रहने बेथितिका पाईलाहरू
अनावश्यक दौडमा भाग लिदैं
शहरहरू अब गरिब हुन थालेका छन् ।

 

सामाजिक मान्यता र सभ्यतालाई तिलान्जली दिदै
व्यस्तताको ढोंग रच्दै सधैं अस्तित्वको खोजीमा
अनन्त आशाको आकाशमा कावा खाँदै
छेपारो झैं आफ्ना रङ् रूप फरेर
ब्यभिचारिहरु निर्लज्जा भई, अपराध अक्रांन्तमा
एक तमास रमिते बनेर तमसा हेरिरहने
काला ख्याकहरूको कुटिलताले जरा गाडिसकेको
शहरहरू अब गरिब हुन थालेका छन् ।

 

सुन्दरता र मौलिकता बेचिएका
मठ मन्दिर, गल्ली र चोकहरू
मुरी धान फल्ने खेत र पाखोबारी
कंक्रिटको जङ्गलमा मौलिक स्वरुप गुमाउदै
दुर्गन्धित सिनो र फोहोरको डङ्गुरमा
विरहको जङ्गलमा नदीनालाले स्वच्छन्दता
सुन्दर काया गुमाउँदै छियाछिया भएका
शहरहरू अब गरिब हुन थालेका छन ।

 

औकात बिर्सनेहरू आधुनिकतामा
अपभ्रंस शब्दहरूको खुड्किला नाघेर
आडम्बर र पाखण्डीपन छल्काउँदै
अश्लिलता र नग्नताको भेषभुसामा
उन्मुक्त उडान र अत्तरले लटपटिएर
संस्कृति र परम्परालाई आगोमा डढाउदै
गल्लि गल्लिहरू लबस्तरा लबस्तरी भएका
शहरहरू अब गरिब हुन थालेका छन् ।

 


मनिष कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर
(निरन्तर रुपमा उत्कृस्ट साहित्यिक रचना पठाउनु हुने “मनिष कुमार शर्मा ‘समित”ज्यूमा हार्दिक आभार ब्यक्त गर्दछौ – लेखापढी म्यागजिन, lekhapadhee.com)