सेनाध्यक्ष नरवणेको भ्रमणका समयमा रक्षा साझेदारीबारे छलफल हुने : दूतावास


सेनाध्यक्ष नरवणेको भ्रमणका समयमा रक्षा साझेदारीबारे छलफल हुने : दूतावास

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणका क्रममा द्विपक्षीय रक्षा साझेदारीबारे छलफल हुने जनाइएको छ । 

काठमाडौंस्थित भारतीय दूतावासले सेनाध्यक्ष नरवणेको भ्रमणको एकदिन अघि ट्विट गर्दै द्विपक्षीय रक्षा साझेदारीलाई थप सुदृढ गर्ने विषयमा छलफल हुने बताएको छ । 

विभिन्‍न सञ्‍चारमाध्यमको भारतीय सेनाध्यक्षको भ्रमणबारेको प्रश्‍नमा दूतावासका प्रवक्ता नविन कुमारले भनेका छन्, “जनरल एमएम नरवणेको भ्रमणले दुई सेनाबीच कायम दीर्घकालीन तथा परम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउनेछ । भ्रमणले द्विपक्षीय रक्षा साझेदारीबारे छलफल गर्न र आपसी हितका लागि यसलाई वृहत बनाउन थप सम्भावनाहरुको खोजी गर्न दुवै पक्षलाई अवसर प्रदान गर्नेछ ।”

भारतीय सेनाध्यक्ष नरवणे तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आउने भएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट्ने कार्यक्रम रहेको छ । 

उनलाई राष्ट्रपति भण्डारीले मानार्थ महारथीको उपाधि प्रदान गर्ने भएकी छन् । नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन रहेको छ । यसअघि सन् २०१९ को जनवरीमा नेपालका प्रधानसेनापति थापालाई भारतमा मानार्थ महारथीको उपाधि दिइएको थियो ।

गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भारतीय सेना प्रमुखलाई भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो । तर, कोभिड-१९ का कारण उक्त भ्रमण स्थगित भएको थियो ।