टेकु अस्पतालमा कोरोनाको उपचार गर्न ५० हजारसम्म धरौटी राख्नुपर्ने


लेखक : लेखापढी      १८ कार्तिक २०७७, मंगलवार ०३:३९ मा प्रकाशित     
टेकु अस्पतालमा कोरोनाको उपचार गर्न ५० हजारसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितले २० हजारदेखि ५० हजारसम्म धरौटी राखेपछि मात्र उपचार पाउने अस्पतालले जनाएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै बिरामीको अवस्थाको आधारमा दैनिक शुल्क र धरौटी तोकेको छ ।

अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने जटिल बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च लाग्ने तर ५० हजार धरौटी रकम जम्मा गरेपछि मात्र उपचार पाइने सूचनामा भनिएको छ ।

यसैगरी, आईसीयूबाहेक भेन्टिलेटरमा रहेका उपचार गर्दा बिरामीले दैनिक ७ हजार ५०० उपचार खर्च लाग्ने तर ३० हजार धरौटी राख्नुपर्ने छ ।

मध्यम जटिल भइ क्याबिन आइसोलेसन बस्ने बिरामीले दैनिक सातहजार पाँच सय शुल्क तिर्नुपर्ने तर ३० हजार धरौटी राख्नुपर्ने छ । 

आइसोलेसनमा बस्नेले दैनिक तीन हजार पाँच सय उपचार खर्च लाग्ने तर २० हजार धरौटी जम्मा गरेपछि मात्र अस्पतालले उपचार सुरु गर्ने भएको छ ।

यसैगरी, विपन्नको परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस पत्र भएमा, ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएको परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुनेछ । 

अस्पतालका प्रमुखर वरिष्ठ कन्सल्टेन्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था, औचित्यता र आवश्यकताका आधारमा उपचार खर्चमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिन सकिने पनि बताइएको छ ।