ट्रम्प भर्सेस जाे बाइडेन: कसको अग्रता


लेखक : लेखापढी      १७ कार्तिक २०७७, सोमबार ०५:३६ मा प्रकाशित     
ट्रम्प भर्सेस जाे बाइडेन: कसको अग्रता

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदानकाे प्रतीक्षाको घडी अब समाप्त हुँदै छ । इलेक्सन डे अर्थात् ३ नोभेम्बरमा हुने मतदानले आगामी चार वर्षका लागि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले निरन्तरता पाउँछन् या डेमोक्र्याट जो बाइडेन राष्ट्रपति बन्छन् भन्ने टुंगो लाग्नेछ । 

चुनावअघि यतिबेला रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टी प्रचारको अन्तिम र निर्णायक क्षणमा छन् । ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनले १ घन्टाको अन्तरमा फ्लोरिडामा र्‍यालीसहित शक्ति प्रदर्शन गरेका छन् । 

त्यसलगत्तै बाइडेनले मिसिगन पुगेर अश्वेत मतदातालाई आश्वस्त पार्ने कोसिस गर्दै आफूलाई मतदान गर्न अपिल गरे । पत्नी मेलानिया ट्रम्पसहित चुनावी र्‍यालीमा सहभागी भएका ट्रम्पले आफूले जीतको नयाँ इतिहास रच्न लागेको उल्लेख गर्दैै कोरोनाको सुरक्षित खोप उपलब्ध गराउने आफ्नो जिम्मेवारी भएको बताए । 

अर्कोतर्फ बाइडेनले ट्रम्पमाथि लोकतान्त्रिक सरकारको सट्टा तानाशाहीको तारिफ र सहयोग गरेको गम्भीर आरोप लगाए । उनले ट्रम्पमाथि देशमा नश्लवाद र विभाजनको विष घोलेको आरोप पनि लगाए । 

पूर्वराष्ट्रपति बाराक ओबामासँगै मिसिगन पुगेका उनले अश्वेत मतदातालाई भेला पारेर जर्ज फ्लोयड, ब्रेयोना टेलर र ज्याकब ब्ल्याकजस्ता निर्दोष व्यक्तिको हत्यामा ट्रम्प जिम्मेवार रहेको आरोप लगाए । 

उता ट्रम्पले पनि रोचेस्टरको एक र्‍यालीमा बाइडेन एक भ्रष्ट नेता भएको भन्दै अमेरिकी जनतालाई ४७ वर्षसम्म धोका दिएको आरोप लगाए । 

राष्ट्रपति ट्रम्पले मिनेसोटाको र्‍यालीमा आफ्नो शक्ति डेमोक्रेटिक पार्टीसामु प्रदर्शन गरे । उनले बाइडेनले आँखामा हेर्ने र पछाडि फर्किएर पिठ्यूँमा छुरा घोप्ने आरोप लगाए । उनले बाइडेनलाई केवल सत्ता हासिल गर्ने चिन्ता भएको पनि बताए । उनले आफ्ना समर्थकले ३ नोभेम्बरमा हुने मतदानमा आफूलाई जिताएर आफ्नो गरिमाको रक्षा गर्न सक्ने बताए । 

अमेरिकामा कोभिड–१९ संक्रमण र यसबाट भइरहेको मृत्युलाई लिएर चिकित्सकलाई चालक भएको बताउँदै अमेरिकी डाक्टरले आर्थिक लाभका लागि महामारीबाट हुने मृत्युका बारेमा झुट बोलिरहेको आरोप लगाए । 

उनले कुनै बिरामीको मुटुमा समस्या या क्यान्सरपीडित भए पनि उनीहरूको मृत्यु कोरोनाबाट भएको बताउने गरेको उदाहरण दिए । कुनै बिरामीको कोभिड–१९ का कारण मृत्यु भएमा उनीहरूले बढी पैसा पाउने भएका कारण यस्तो भनेको उनको भनाइ छ । 

ट्रम्पको र्‍यालीमा सहभागी कोरोनाको चपेटामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा सहभागी हजारौँमा कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पका १८ र्‍यालीमा सहभागी ३० हजारभन्दा बढी संक्रमित भएको र ७ सयभन्दा बढीको मृत्यु भएको एक अध्ययनमा उल्लेख छ । 

स्टेनफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले यो खुलासा गरेको हो । ‘कोभिड–१९ को प्रसारमा ठूला समूहका बैठकको प्रभाव : ट्रम्पको र्‍यालीको मामिला’ शीर्षकमा भएको यो अध्ययनमा शोधकर्ताले २० जूनदेखि २२ सेप्टेम्बरको बीचमा १८ वटा चुनावी र्‍यालीबारे अध्ययन गरेका हुन् । 

न्युयोर्कमा १ लाखलाई गलत मतपत्र

कोरोना भाइरसको महामारीका कारण अमेरिकी राष्ट्रपति निर्वाचनमा हालसम्म ९ करोड १६ लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । यो संख्या अमेरिकाका मतदातामध्ये ४३ प्रतिशत हो भने सन् २०१६ को निर्वाचनमा खसेको मतलाई शतप्रतिशत मान्ने हो भने ६७ प्रतिशत मात्र मत हो ।

अमेरिकामा भइरहेको अग्रिम मतदानमा फर्जी ड्रप बक्स पनि पठाइएका समाचार बाहिर आइरहेका छन् । न्युयोर्कमा मात्रै १ लाखभन्दा बढी गलत मतपत्र भेटिएको बताइएको छ । विस्कन्सिनमा मात्रै २१ हजार मतदानस्थल २१ अक्टोबरसम्म हटाइएको थियो । यी क्षेत्रमा गरिब र अश्वेतहरूको बस्ती छ । 

बाइडेन अघिअघि ट्रम्प पछिपछि

अमेरिकी राष्ट्रपतिको यो निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्र्याटिक जो बाइडेनभन्दा पछि देखिएका छन् । मत सर्वेक्षणमा अग्रता हासिल गरेको भए पनि उनले निर्वाचन जित्छन् नै भन्न सकिने अवस्था भने छैन । 

सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पविरुद्ध स्पष्ट अग्रता कायम गरेकी थिइन् । तर उनले इलेक्टोरल कलेजमा जीत हात पार्न सकिनन् । अमेरिकाका ५० मध्ये आठवटा निर्णायक राज्यमा निरन्तर सर्वेक्षण भइरहेका छन् । सन् २०१२ मा बाराक ओबामाले जिते पनि २०१६ मा ट्रम्पको पक्षमा गएका आठमध्ये छ राज्य निर्णायक देखिन्छन् । 

एरिजोना र नर्थ क्यारोलिना पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन् । फ्लोरिडा, पेन्सिलभानिया, मिसिगन, एरिजोना, नर्थ क्यारोलिना, इओवा, विस्कन्सिनजस्ता राज्यमा बाइडेन बलिया देखिएका छन् भने ओहियोमा ट्रम्पको अग्रता देखिन्छ । 

सन् २०१६ मा ट्रम्प विजयी भएका ‘ब्याटल ग्राउन्ड स्टेटस’ का रूपमा रहेका फ्लोरिडा, जर्जिया, इओवा, मिसिगन, नर्थ क्यारोलिना, पेन्सिलभानिया, विस्कन्सिनमा डेमोक्र्याट नेता बाइडेनको अग्रता देखिन्छ । 

टेक्सास र एरिजोनामा भने ट्रम्प नै विजयी हुने मतसर्वेक्षणले देखाएका छन् । तर यी राज्यमा पनि बिडेन झिनो अन्तरमा मात्रै पछि देखिएका छन् । अघिल्लो निर्वाचनमा हिलारी क्लिन्टन विजयी भएका भर्जिनिया, न्यु ह्याम्पसायर, नेभाडा, मिन्नेसोटामा पनि बाइडेनले मतरक्षा गर्ने सम्भावना देखिएको छ । 

सन् २०१६ मा ट्रम्प विजयी भएको इओवा, ओहियो र टेक्सासमा ८ देखि १० प्रतिशतको अन्तर थियो । तर यस वर्ष यी तीनवटै राज्यमा मतान्तर निकै साँधुरो देखिएको छ । समग्रमा बाइडेन ट्रम्पभन्दा १० प्रतिशतले अगाडि देखिएका छन् । 

निर्वाचनका एजेन्डा

अमेरिकी राष्ट्रपति निर्वाचनमा केही निश्चित एजेन्डा छन्, जसले ट्रम्प वा बाइडेनमध्ये एक जनालाई आगामी चार वर्ष सत्ताको चाबी हात लाग्नेछ । यस वर्ष अमेरिकी निर्वाचनमा स्वास्थ्यको विषय निर्वाचनको प्रमुख एजेन्डा बनेको छ ।

कोरोना भाइरसको महामारीका कारण लामो समय लकडाउनका कारण समस्यामा परेको अर्थतन्त्र खुला गर्ने र आमजनताको ज्यानको सुरक्षाको विषय निर्वाचनमा जोडतोडका साथ प्रचारमा रह्यो । 

ट्रम्पले कोरोना भाइरसको उपचार र खोप विकासका लागि १० अर्ब डलर छुट्याएका छन् । बाइडेन भने कोरोना भाइरसको नियन्त्रणका लागि देशव्यापी कन्ट्याक्ट ट्रेसिङको अभियानको पक्षमा छन् । हरेक राज्यमा कम्तीमा १० वटा परीक्षण केन्द्र स्थापना गरेर सबैको निःशुल्क कोरोना भाइरस परीक्षण गराउने उनको योजना छ । 

उनकाे अर्को महत्त्वपूर्ण एजेन्डा जलवायु हो । राष्ट्रपति ट्रम्प जलवायु परिवर्तनका विषयमा अनुदार देखिन्छन् । गैरनवीकरणीय ऊर्जाको विस्तारका पक्षमा रहेका उनी ग्यास र तेल निकाल्ने कार्य बढाउने र वातावरण संरक्षणसम्बन्धी सुरक्षा प्रबन्धहरू फिर्ता लिने पक्षमा छन् । सोहीअनुसार नै उनी जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट समेत पछि हटेका छन् । जलवायु परिवर्तनसँग जुझ्नका लागि गरिएको पेरिस सम्झौताबाट अमेरिका यो वर्षको अन्त्यमा औपचारिक रूपमा हट्नेछ ।

जो बाइडेन भने सो सम्झौताको पक्षमा छन् । सन् २०१५ मा सो सम्झौता हुँदा बाइडेन उपराष्ट्रपति थिए । उनी राष्ट्रपतिमा निर्वाचित भए तत्कालै पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सो सम्झौताको पक्षमा उभिनेछन् ।

बाइडेन नयाँ सार्वजनिक जग्गाहरू तेल र ग्यास निकाल्न भाडामा लगाउने कार्य बन्द गराउने पक्षमा छन् । सन् २०५० सम्ममा अमेरिकाले कार्बन उत्सर्जन शून्यमा झारोस् भन्ने पक्षमा रहेका उनले हरित ऊर्जाका लागि २० खर्ब डलर लगानीको प्रस्ताव गरेका छन् ।

यस्तै, राष्ट्रपति ट्रम्पले १० महिनामा १ करोड रोजगारी सिर्जना गर्ने र १० लाख नयाँ साना उद्योगहरू स्थापना गर्ने वचन दिएका छन् । ट्रम्प आयकरमा कटौती गर्न र कम्पनीहरूलाई रोजगारी कटौती नगर्न प्रोत्साहित गर्ने पक्षमा छन् भने जो बाइडेन उच्च आय गर्नेहरूका लागि कर बढाउने योजनामा छन् । यसरी उठेको कर सार्वजनिक सेवाहरूमा लगानी गर्ने उनको याेजना छ । 

ट्रम्प या बिडेन जो निर्वाचित भए पनि अमेरिका-चीन नीतिमा त्यति ठूलो अन्तर आउने देखिँदैन । तर चीनमाथि गर्ने बाहिरी व्यवहारमा भने फरकपना आउने देखिन्छ । 

ट्रम्प अन्तर्राष्ट्रिय गठबन्धनहरूलाई चुनौती दिन जारी राख्ने र चीनमाथिको व्यापार शुल्कलाई निरन्तरता दिने पक्षमा छन् । बाइडेनले भने अमेरिकी सहयोगी देशहरूसँग सम्बन्ध सुधार गर्ने र चीनमाथि एकतर्फी शुल्क लगाउनुको साटो अन्तर्राष्ट्रिय गठबन्धनका साथ चीनलाई उत्तरदायी बनाउने पक्षमा छन् । यीमध्ये जुन नीतिलाई अमेरिकी जनताले पत्याउनेछन्, उसले आगामी चार वर्ष अमेरिकी सत्ताको चाबी प्राप्त गर्नेछ । (एजेन्सीको सहयोगमा )