‘मिर्जापुर २’ निर्माण टिमप्रति प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोप


‘मिर्जापुर २’ निर्माण टिमप्रति प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोप

मुम्बई । लामो समयको प्रतिक्षापछि टिभी सिरिज ‘मिर्जापुर २’ हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । रिलिज पश्चात नै सामाजिक सञ्‍जालदेखि सञ्‍चारमाध्यमसम्म चर्चा भइरहेको छ । यसैबीच यसको एक सिनलाई लिएर निर्माता टिम विरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघन गरेको आरोप लागेको छ । 

हिन्दी लेखक सुरेन्द्र मोहन पाठकले मिर्जापुर टिमलाई यो आरोप लगाएको हो । ‘मिर्जापुर २’ को इपिसोड ३ मा कुलभूषण खरबन्दको पात्रले पाठकको उपन्यास ‘ढाबा’ पढेको देखिन्छ जबकी भ्वाइसओभरमा एक कामुक दृश्य वर्णन गरिएको हुन्छ । 

‘मिर्जापुर २’ मा अली फजल, दिव्येन्दु शर्मा, रसिका दुग्गल, पंकज त्रिपाठी, श्वेता त्रिपाठी र हर्षिता गौर लगायत अन्य कलाकारहरुले पनि अभिनय गरेका छन । यहि भ्वाइसओभर दृश्यप्रति ‘ढाबा’ का लेखक सुरेन्द्रले आपत्ति जनाएका छन् । उनका अनुसार उक्त सिनसँग उपन्यासमा भएको विषयसँग कुनै मेल नभएको भन्दै उनले एक्सेल इन्टरटेन्मेन्टलाई त्यो भ्वाइसओभर सिनलाई हटाउन सूचना पठाएका हुन् । लेखक सुरेन्द्र निर्माण टिमको उत्तरको प्रतिक्षामा छन् । यदि निर्माण टिमबाट कुनै प्रतिक्रिया नआएमा उनी दिल्ली उच्च अदालत पुग्ने उनले बताएका छन् । 

उनका अनुसार उनी त्यो सिनबारे अनजान थिए । तर उनका पठाकहरुले यसबारे उनलाई खबर पठाएर उनकी छोरीले त्यो सिन देखाएपछि बल्ल थाहा भएको पनि उनले बताएका छन् । 

लेखकका अनुसार निर्माताहरुले ५० लाईन (भ्वाइसओभर) शब्दको प्रयोग गरि उपन्यासको लाइन जस्तो गरी प्रस्तुत गरेका छन् । यो सुरेन्द्रको १० वर्षअगाडि प्रकाशित भएको उपन्यास हो । भ्वाईसओभरमा बलदेव राजको चरित्रको उल्लेख गरिएको छ । जबकी उपन्यासमा त्यस्तो कुनै चरित्र नै नभएको दाबी लेखकले गरेका छन् । 

सुरेन्द्रले अहिलेसम्म २७० भन्दा धेरै रहस्य र थ्रिलर उपन्यासहरु लेखेकोमा कुनैमा पनि यौनको कुरा उल्लेख नगरेको भन्दै यो उनलाई बदनाम गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।