दरबारका पूर्व प्रमुखसचिव खनालको निधन


दरबारका पूर्व प्रमुखसचिव खनालको निधन

तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ। 

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभयो ।
मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत हुनुहुन्थ्यो ।

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेख्नुभएको छ ।
तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष राजप्रासाद सेवामा काम गर्नुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । काठमाडौँमा निधन हुनुभएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि जीवित रहँदा उहाँले व्यक्त गर्नुभएकाे इच्छा अनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।