डोनाल्ड ट्रम्पको मुर्ति बनाई पूजा गर्ने भारतियको निधन


डोनाल्ड ट्रम्पको मुर्ति बनाई पूजा गर्ने भारतियको निधन

भारतका एक किसान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘अन्धभक्त’ थिए। उनले आफ्नो घरपछाडि ट्रम्पको मूर्ति नै स्थापना गरेका थिए। उक्त मूर्तिलाई उनी हरेक बिहान पुजाआजा गर्थे। 

दक्षिणी तेलंगनाको कोन्ने गाँउका बासिन्दा बुस्सा कृष्ण थिए। गत असोज २५ गते उनको हृदयघातबाट मृत्यु भएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

कृष्णको मृत्यु ट्रम्पलाई कोरोना भएपछि तनावका कारण भएको उनको परिवारले जनाएको टाइम्सले लेखेको छ। गत अक्टोबर २ गते अमेरिकी राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो। यो खबरले कृष्ण तनावमा थिए। 

ट्रम्पलाई संक्रमण पुष्टि भएकै दिन कृष्णले आफ्नो फेसबुकमार्फत एक भावुक भिडिओ पनि हालेका थिए। जसमा उनले आफ्नो भगवानमा कोरोना भएपछि अत्यन्तै दुखी भएको बताएका थिए। 

‘म निकै दुखी छु किनकी मेरा भगवान ट्रम्पलाई कोरोना भएको छ। म ट्रम्प छिटो होऊन् भनी प्रार्थना गरिदिन सबैमा अपील गर्छु,’ कृष्णले आफ्नो भिडिओमा भनेका थिए।

उनी त्यत्तिमै रोकेनन्। एकता देखाउने भन्दै उनी ब्रत समेत बसे। उनका परिवारका अनुसार त्यसपछि उनी गहिरो डिप्रेसनमा गएका थिए। र पछि उनको हृदयघातबाट मृत्यु भयो। 

ट्रम्पलाई भगवान मान्ने कृष्ण भारतमा सानातिना सेलेब्रिटीका रूपमा चिनिएका थिए। उनको मृत्यु भएको दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार संस्थाले खबर छापेका थिए।
कृष्णका भाइ विवेकका अनुसार उनमा पहिले मुटुको कुनै समस्या थिएन। उनी शारीरिक रूपमा तन्दरूस्त नै थिए।

कृष्ण चार वर्षदेखि ट्रम्पका ‘भक्त’ थिए। एक दिन कृष्णको सपनामा आएर ट्रम्पले भारतले क्रिकेटमा आफ्नो विपक्षीलाई हराउने भन्ने भविष्यवाणी गरेका थिए। नभन्दै भोलिपल्ट भारतले क्रिकेटमा पाकिस्तानलाई पराजित गर्‍यो।

त्यस दिनदेखि उनले डोनाल्ड ट्रम्पलाई भगवानस्वरूप पूजा गर्दै आएका थिए। आफ्नो भक्ति देखाउन उनी हरेक शुक्रबार ब्रत समेत बस्थे। ट्रम्पको मूर्ति स्थापना गरेका थिए भने दैनिक हिन्दु परम्परा अनुसार एकदेखि दुई घण्टासम्म पूजा गर्थे। 

गत फेब्रुअरीमा ट्रम्प भारत भ्रमणमा आउँदा उनले ट्रम्पलाई पूजा गर्दै गरेको भिडिओ भाइरल भएको थियो। त्यसमा उनले आफ्नो टि-सर्टमा समेत ट्रम्पको नाम लेखेको देखिएको थियो। 

भारत भ्रमणमा आउँदा उनले ट्रम्पलाई भेट्न पनि खोजेका थिए। त्यसका लागि उनी नयाँ दिल्लीस्थित अमेरिकी दूतावास पुगे। तर उनले भेट्न नपाएको गाउँका प्रमुख भिमुला बेंकट न्युयोर्क टाइम्ससँग भनेका छन्।

‘यो कुरा एकदम नरमाइलो छ किनकी उनको सपना कहिल्यै पूरा हुन सकेन,’ उनले भने। उनका अनुसार ट्रम्पलाई कोरोना भएपछि कृष्ण कोठा बन्द गरेर बसेका थिए। 

‘हामीले उनलाई खाना खुवाउने प्रयास गरेका थियौं तर खान मान्थेनन्,’ बेंकटले भनेका छन्। हृदयघात भएर ढलेका उनलाई आफन्तले अस्पताल पुर्‍याएका थिए। तर डाक्टरले अस्पताल पुग्दा मृत घोषणा गरेका टाइम्सले लेखेको छ।

कृष्णको मृत्यपछि उनले स्थापना गरेको ट्रम्पको मूर्ति कसरी संरक्षण गर्न सकिन्छ भन्ने बारे गाँउलेले सरसल्लाह समेत गरिरहेका छन्।