राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा


लेखक : लेखापढी      २९ आश्विन २०७७, बिहीबार ०२:१२ मा प्रकाशित     
राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

 

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए ।

यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।

यस्तै मार्कुस स्टोनिसले १८ रन जोड्दा एलेक्स केरीले १४ रन बनाए । पृथ्वी श सुन्य रनमा आउट हुँदा अजिंका रहानेले २ रन बनाए ।

दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो ।

पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको भने यो पाँचौ हार हो । राजस्थानले ८ खेलमा ६ अंक जोडेको छ ।