वास्तु शास्त्र: घरको आग्नेय कोणमा सामान राख्दा के राख्ने- नराख्ने ?


वास्तु शास्त्र: घरको आग्नेय कोणमा सामान राख्दा के राख्ने- नराख्ने ?

हामी घरको आगन या करेसामा विभिन्न किसिमको बिरुवा लगाउँछौं त्यसको कारण के होला ? तरकारीको लागि प्रयोग नहुने तुलसी जस्ता बिरुवा हामीमध्ये धेरैको घरमा हुन्छ । त्यो किन होला ?

लकडाउनको समयमा तुलसीको पत्तालाई दुई गुणा महँगो तिरेर किन्ने गरिएको छ । अर्काे तर्फ वास्तुदोषको निवारणको लागि पनि तुलसी, बोजो जस्ता बिरुवा घरमा रोप्नुपर्ने वास्तुशास्त्रीहरुको मत छ ।
lekhapadhee.com

वास्तुशास्त्र हरेक दिशा र कोणलाई हेरेर व्याख्या गर्ने शास्त्र हो । मुख्यतया ८ वटा दिशालाई महत्वका साथ हेर्ने यस शास्त्रले घर बनाउँदा कुन दिशामा कस्तो प्रयोजनको सामान राख्ने भनेर पनि सुझाव दिने गर्छ । सूर्यको किरण, घरको वातावरण अनुसार चिस्यानको सम्भावना जस्ता पक्षले वास्तुलाई निर्देशित गरेको हुन्छ ।

हिमालको काखमा भएको घरको ढोका दक्षिणतर्फ फर्काउने गरिन्छ भने पश्चिमबाट हावा चल्ने घरमा पूर्वतर्फ ढोका राख्ने गरिन्छ । यी सबै अनुभवबाट उब्जिएको ज्ञान हो । वास्तुले मध्यस्थानलाई एउटा आधार मानेर पूर्वदिशा, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर, ईशान दिशालाई कसरी प्रयोगमा ल्याउने भनेर उल्लेख गरेको छ ।lekhapadhee.com

अग्निले प्रतिनिधित्व गर्ने कोण भएकोले आग्नेय कोणलाई ऊर्जाको लागि उपयुक्त मान्ने गरिन्छ । आग्नेय कोण पूर्व र दक्षिणतर्फको कोण हो । सूर्य उदाएलगत्तै सबैभन्दा पूर्वतर्फको भाग सूर्यको स्पर्शमा पर्छ । त्यसैले यो कोणले आफैंमा ऊर्जाको प्रतिनिधित्व गर्ने गर्छ । त्यसकारण यो विश्वास गरिन्छ कि यस दिशामा एक किसिमको विशेष ऊर्जा पाउन सकिन्छ । यस दिशामा भान्साकोठा राख्नु उपयुक्त मानिन्छ । यसतर्फ बिजुलीका उपकरणहरू समेत राख्न सकिन्छ ।

 

आग्नेय कोण पानीजन्य सामग्री राख्नको लागि उपयुक्त मानिँदैन । आगो र पानी एकै ठाउँमा राख्न उपयुक्त हुन्न । आग्नेय कोणमा पानीजन्य सामग्री राख्न नमिल्ने भएकोले आग्नेय कोणमा खाना खाने ठाउँ बनाउनु उपयुक्त हुँदैन ।

आग्नेय कोणमा पानी आवश्यक पर्ने खालका चिजहरूको राखनधरान गर्दा यसले पारिवारिक समस्या या झण्झटको सामना गर्नुपर्ने वास्तुशास्त्रमा उल्लेख छ ।

आग्नेय कोणको वास्तुदोष

– आग्नेय कोणमा मूल ढोका राख्नु उपयुक्त मानिँदैन । यस्तो हुँदा विभिन्न किसिमका रोगहरूले सताउन सक्ने वास्तु शास्त्रमा उल्लेख छ ।

– दिनभरि घरमा घामको किरण परिरहनुले घरमा अक्सिजनको स्तर कम हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूमा बेचैनी र असहज अवस्था सिर्जना हुन्छ ।

वास्तु निवारणको लागि के गर्ने ?

वास्तुशास्त्रीहरू वास्तु दोष निवारणको उपायबारे समेत बताउँछन् । त्यसको लागि घरमा विभिन्न वनस्पतिहरू लगाएर पनि वास्तु दोष हटाउन सकिन्छ भन्ने मान्यता छ । पर्यावरणको लागि समेत राम्रो मानिने तुलसी बुरुजो, रुद्राक्ष, बेल, परिजात, शमी, आँप, रातरानी, जयन्ती फूलजस्ता वृक्ष रोपेर पनि वास्तुदोष निवारण गर्न सकिने वास्तुशास्त्रमा उल्लेख छ ।

प्राचीन समयमा वास्तुदोषबाट बचको लागि घरमा स्वस्तिक चिह्न लगाउने, घरमा माछा पाल्ने, पाञ्चायन भगवानको पूजा गर्ने जस्ता उपाय अपनाइन्थ्यो । अहिले पनि हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई अपनाउने गर्छन् ।