वसन्त ऋतुको वर्षा वस्तुहरू भिजाउनैका लागि पर्याप्त थिएन । पानी यति हलुका र मिहिन थियो, त्यसले त्वचालाई मात्र अलिकति भिजाउँदै थियो । त्यतिकैमा एउटी केटी दौडिँदै बाहिर निस्किइन् । उनले केटाकोे हातमा छाता देखिन् ।
‘हैन ! के पानी परिरहेकै छ र ?’
जतिबेला त्यो केटो पसलको अगाडिबाट हिँड्दै थियो, त्योबेला उसले आफूलाई वर्षाको पानीबाट बचाउनभन्दा पनि शरम नहोस् भनेर आफ्नो छाता खोलेको थियो ।
तैपनि उसले चुपचाप छाता केटीतिर ढल्काउँदै ओढाएर अगाडि बढ्यो । केटीले आफ्नो एउटा काँध मात्रै छातामुनि राखेकी थिइन् । केटो भने यतिखेर अलिअलि भिजिरहेको थियो । तर ऊ केटीनजिक गएर उसँग सोध्न सकिरहेको थिएन– के उनी ऊसँगै छातामुनि आउन चाहन्छिन् । त्यसो त केटी पनि आफ्नो हात केटाको हातसँगै छाता समाउने डन्डीमा राख्न चाहिरहेकी थिइन् ! तिनलाई देखेर यस्तो लाग्थ्यो, मानौं तिनी अहिले नै भाग्न आतुर छिन् ।
केटाकेटी दुवैजना एउटा फोटोग्राफरको स्टुडियोमा पुगे । केटाको बुबाको सिभिल सर्भिसमा अन्यत्र सरुवा भएको थियो । छुट्टिनुभन्दा अगाडि दुवै एक–अर्कासँग फोटो खिचाउन चाहन्थे ।
“तपार्इंहरू दुवैजना यहाँ सँगसँगै बस्न सक्नुहुन्छ, प्लिज ?” फोटोग्राफरले सोफातिर संकेत गरेर भन्यो । तर त्यो केटो गएर केटीको छेउमा बस्न सकेन । ऊ केटीको पछाडि गएर उभियो । ऊ चाहन्थ्यो यो महसुस होस् कि उनको शरीर कुनै न कुनै रूपमा ती केटीसँग जोडिएको छ । त्यसैले सोफाको अडेस लगाउने ठाउँमा राखेको आफ्नो हातले केटीको कपडालाई छोइरह्यो । उसले पहिलोपटक केटीलाई यसरी छोएको थियो । आफ्नो औँलाको टुप्पोमा महसुस भइरहेको केटीको शरीरको गर्मीले उसलाई बेग्लै अनुभूत भइरहेको थियो, जुन अनुभूति उसले त्यतिबेला पाउँथ्यो जब तिनलाई नग्न रूपमा आफ्नो अँगालोमा बाँध्न पाउँथ्यो ।
आफ्नो बाँकी रहेको जिन्दगीमा जब–जब उसले यो फोटो हेर्नेछ, त्यतिबेला यो शरीरको गर्मी उसलाई सम्झना भई आउनेछ ।
“एकपटक फेरि खिचौं । म तपाईंहरूलाई एक–अर्काको छेउमा उभ्याएर नजिकैबाट एउटा तस्बिर खिच्न चाहन्छु ।” केटोले आफ्नो गर्दन मात्रै हल्लायो ।
“तिम्रो केश ?” केटोले उनको कानमा साउती गरेर भन्यो । केटीले केटातिर हेरिन् । अनि लाजले भुतुक्क भइन् । तिनको आँखामा एक किसिमको चमक छायो । तर पछि हड्बडाएकी उनी बाथरुमतिर भागिन् ।
पहिले, ती केटीले जब केटालाई पसलबाट हिँड्दै गरेको देखेकी थिइन्, त्यसबेला केश मिलाउन छाडेर हतारमै उनी बाहिर निस्किएकी थिइन् । यतिबेला भने उनलाई आफ्नो छरिएको केशको चिन्ता भइरहेको थियो । उनको केशराशि यस्तो लाग्दै थियो मानौं भरखरै मात्र तिनले नुहाउँदा खेरी लगाएको क्याप झिकेकी हुन् !
केटी यति लजालु थिइन् कि कुनै केटाका अगाडि आफ्नो कपाल पनि मिलाउन सक्दिन थिइन् । तर यता केटालाई लागिरहेको थियो, यदि उसले त्यतिबेला केटीलाई आफ्नो केश मिलाउन भन्दो हो त केटी अझै धेरै लजाउने थिई ।
बाथरुमतिर जाँदै गरेकी केटीको खुसीले केटाको डर र घबराहटलाई धेरै कम गरेको थियो । जब तिनी फर्किएर आइन् त्यसपछि दुवै सोफामा सँगै बसे । मानौं त्यो नै संसारको सबैभन्दा स्वाभाविक कुरा हो ।
जब उनीहरू स्टुडियोबाट फर्किने बेला भयो, केटाले आफ्नो छाता खोज्न थाल्यो । उसले आफ्नो नजर यताउता दौडायो । केही बेरपछि मात्रै उसले ध्यान दियो कि ऊभन्दा अगाडि नै केटी बाहिर निस्किएकी थिइन् र उनैले छाता समातेकी थिइन् ।
केटीले ध्यान दिइन्, केटोले तिनलाई हेरिरहेको छ । त्यसैबेला उनले महसुस गरिन्, केटोको छाता त उनले पो बोकेकी छन् । यो विचार मात्रैले पनि केटीलाई झस्कायो ! के लापरबाहीमा गरिएको उनको यो कामले केटोलाई थाहा भयो होला कि, उनी पनि उसैकी हो भन्ने ?
केटोले छाता समात्ने कुरा उठाउन सकेन । नत ती केटीले नै छाता उसलाई फर्काउने हिम्मत गर्न सकिन् ! थाहा छैन कसरी यतिबेला यो सडक भिन्न भइसकेको थियो, जुन सडकले तिनलाई फोटोग्राफरको पसलसम्म ल्याएको थियो ।
ती दुवै अचानक बालिग भइसकेका थिए । भलै छातासँग जोडिएको यो घटनाकै लागि भए पनि । दुवै कुनै विवाहित दम्पतीजस्तै महसुस गर्दै घरतिर फर्किए ।
(११ जुन १८९९, जापानमा जन्मिएका यासुनारीका कथा र उपन्यासहरू प्रकाशित छन् ।)