प्रदेश ५ को प्रदेश सभा बैठकमा कांग्रेस सांसदले गरे तोडफोड


प्रदेश ५ को प्रदेश सभा बैठकमा कांग्रेस सांसदले गरे तोडफोड

प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन्।

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो।

सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।

मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए। नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ।

सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्।

उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन्।

अहिले सभामुखले सांसदलाई बोल्न समय दिएका छन्।