कांग्रेसले गर्‍यो प्रदेश सभामा विरोध, बैठक स्थगित


कांग्रेसले गर्‍यो प्रदेश सभामा विरोध, बैठक स्थगित

बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । 
प्रदेशसभाको सोमबारको बैठक सुरु हुनासाथ समय लिएर बोलेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्ने बताए ।

‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो?,’ संसदमा बोल्दै उनले भने, ‘सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो।’ मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको आरोप लगाएको छ ।

नयाँ ठाउँमा राजधानी बनाउन अर्थतन्त्रले नभ्याउनेसमेत कनौडियाको तर्क छ। 
‘नगर र गाउँको भवन बन्न सकेको छैन। प्रदेशको संरचना कसरी बनाउने?,’ उनले भने, ‘नयाँ ठाउँ विकास गर्न होटल खोल्न सकिन्छ। रहर र राजनीतिक स्वार्थका लागि राजधानी सार्ने प्रस्ताव ल्याइएको छ।’