कालापानी जाने बाटो बनाउदै नेपाली सेना


कालापानी जाने बाटो बनाउदै नेपाली सेना

दार्चुला । नेपाली सेनाले दार्चुलाको व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो ।

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो । मौसम प्रतिकूल हुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा आवत जावत गर्न सहज भएको छ ।

व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्छन । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास रहेको छ । घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताए । सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उनले जानकारी दिए ।

सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डीपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गएको साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन् । यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपिहिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्र यस क्षेत्रमा पर्छन् ।