सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले क्रिकेटमा लगातार दोस्रो जित हासिल


सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले  क्रिकेटमा लगातार दोस्रो जित हासिल

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो ।

 

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे । यस्तै केदार जाधबले २६ रन जोड्दा शेन वाट्सन १४ र मुराली विजय १० रनमा आउट भए ।

कप्तान महेन्द्र सिंह धोनीले १५ तथा रबिन्द्र जडेजाले १२ रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै एन्रीच नोर्ट्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

दिल्लीले सन्दीपलाई भने मैदान उतारेको थिएन । सन्दीप लगातार दोस्रो खेलमा प्लेइङ सेटमा नपरेका हुन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३५ रन जोडे । शिखर र पृथ्वीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।

यस्तै ऋषब पन्तले अविजित ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए ।

चेन्नईका पियुस चावालाले २ विकेट लिए । साम करनले एक विकेट लिए ।

जितसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो ।

Image

तीन खेल खेलिसकेको चेन्नईको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।

चेन्नईले ३ खेलमा २ अंक जोडेको छ । चेन्नई तालिकाको पाँचौं स्थानमा रहेको छ ।

Image