बेद्कोट नगरपालिकाले सिसी टिभी सहित बजार क्षेत्रमा सोलार बिजुली लगाउदै


बेद्कोट नगरपालिकाले सिसी टिभी सहित बजार क्षेत्रमा सोलार बिजुली लगाउदै

कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि क्यामेरा जडान गरेको हो ।

नगरपालिकाले उज्यालोका लागि सोलार प्यानलसहित राजमार्ग क्षेत्रका भिडभाड बढी हुने क्षेत्रमासीसी क्यामेरा जडान गरेको हो । वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले सुरक्षा व्यवस्थापन र अपराधिक गतिविधि नियन्त्रणका लागि क्यामेरा जडान गरिएको बताए । 

वेदकोटले शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाको सीमाना, दैजी बजार क्षेत्र र चम्फापुर बजारका मुख्य–मुख्य चोकमा २५ वटा नाइटभिजन सीसी टीभी क्यामेरा जडान गरेको हो । २५ वटा नाइटभिजन सीसी टीभी क्यामेरा र १ सय १६ वटा सोलार प्यानल जडान गर्न नगरपालिकाले अमृत–बोहरा जेभिसंग १ करोड १३ लाखमा ठेक्का सम्झौता भएको छ ।

पहिलो चरणमा महेन्द्र राजमार्ग अन्तर्गत वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाटा नगरपालिका संग जििोडएको सीमा प्रारम्भ रेखा चम्फापुर पुलदेखि सामादैजी, दैजी,सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको हो ।

नगर प्रमुख चन्दका अनुसार क्यामेरा तथा सोलार प्यानल जडान गर्न नगरले नै बजेट विनियोजन गरेको हो । –नगरको व्यस्त र भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको छ’, उनले भने ‘नगरपालिकामा स्वदेशी लगायत विदेशी पर्यटकको आवागमन बढेसँगै उनीहरुमा दुर्घटना र हानी नहोस् भनेर सो काम गरेका हौँ ।’

क्यामेरा तथा सोलार प्यानल जडान भएपछि मुख्य चोकमा झिलिमिलि भएको छ । जसले गर्दा पहाडबाट नगर भित्रिने र नगरबाट पहाड जाने यात्रुहरुलाई समेत रातीको समयमा निकै सहज हुने भएको छ ।

वेदकोट नगरपालिकाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त भए मात्र त्यहाँ रहेका उद्यान, वनभोज क्षेत्र र धार्मिक क्षेत्रमा बढीभन्दा बढी मानिसको आवागमन बढाउन सकिने उनको विश्वास छ । सीसी क्यामेरा जडान भएसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सफल हुने नगर प्रमुख चन्दको विश्वास छ ।

वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम रहने छ भने सोही ठाउँबाट क्यामेराको निगरानी गरिने छ ।