रानीपोखरीमा तीन करोड लिटर पानी हालेर भरिदै


रानीपोखरीमा तीन करोड लिटर पानी हालेर भरिदै

काठमाडौं । रानीपोखरीमा  २ करोड ९७ लाख लिटर पानी हालिने भएको छ। पानी हाल्नका लागि दुईवटा बोरिङ निर्माण गरी रानीपोखरीमा पानी भरिने भएको हो । पाँच फिट चार इन्चको उचाइ सम्ममा पानी भरिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

रानीपोखरी ५ वर्षपछि पुनः भरिने भएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरिरहेको हो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।

यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।