योसिहिडे सुगा जापानको प्रधानमन्त्रीमा निर्वाचित


योसिहिडे सुगा जापानको प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं ।  जापानको संसद्ले योसिहिडे सुगालाई प्रधानमन्त्रीकोरुपमा चयन गरेको छ । जापानका पूर्व मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाएको छ ।  

सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।

प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् । 

आबेका नजिकका मित्रसमेत रहेका ७१ वर्षीय योशिहिदे यसअघि आबे सरकारका मुख्य सचिव थिए । उनले आबेले लिएका नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

आगामी वर्ष हुन गइरहेको संसदीय निर्वाचनसम्म सुगा जापानको प्रधानमन्त्रीको रुपमा रहनेछन् । ७१ वर्षीय यी नेतालाई कोरोना भाइरस (कोभिड-१९)को कारण अर्थतन्त्रमा देखिएको असर कम गर्ने चुनौती रहनेछ । विश्वको सबैभन्दा धेरै प्रतिशत वृद्ध मानिसको जनसंख्या रहेको मुलुकको अर्थतन्त्र सन् २०२० को दोस्रो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा २७ दशमलव ८ प्रतिशतले घटेको थियो ।

सुगाले बुधबार नै आफ्नो मन्त्रिपरिषद्को घोषणा गर्न सक्ने अपेक्षा छ । उनले यसअघि नै आबेको नीतिलाई नै आफूले अघि बढाउने बताइसकेका छन् । एजेन्सी ।