काेराेना बिमाः निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने तर उपचार गरे मात्रै पूरा भुक्तानी


काेराेना बिमाः निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने तर उपचार गरे मात्रै पूरा भुक्तानी

काठमाडौं । कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ र अब निजी ल्याबकाे परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । र यससँगै बीमा समितिले कोरोना पोजेटिभ देखिएमा तत्काल २५ प्रतिशत रकम मात्रै दिने र अस्पताल भर्ना भएमा वा औषधोपचार गर्नुपर्ने भएमा मात्रै सो औषधि उपचारको बिल बमोजिमको थप ७५ प्रतिशत बराबर हुने रकम नबढ्ने गरी भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

यसअघि निजी ल्याबकाे रिपाेर्ट मान्य नहुने र  कोरोना संक्रमण पोजेटिभ देख्नेबित्तिकै तोकिएको बीमा बराबरको रकम भुक्तानी गर्नेगरी बीमालेख जारी गरिएको थियो ।

समितिले गरेको संशोधनमा यसअघि बोरोना बीमा मापदण्डमा उल्लेखित “नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रयोगशाला” भन्ने वाक्यांशलाई हटाएर “नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला” भन्ने वाक्यांश समावेश गरेको छ । ये संशोधनले हाल स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने बाटो खोलेको हो ।

व्यक्तिगत बीमालेख बन्द

बीमालेख र मापदण्ड संशोधन भएसँगै व्यक्तिगत रुपमा गरिने बीमा बन्द भएको छ । यसअघि व्यक्तिगत तथा सामूहिक रुपमा बीमा गर्ने विकल्प रहेकोमा अब सामूहिक बीमालेख मात्रै जारी हुने भएको हो ।

यसअघि व्यक्तिले चाहेमा १ लाख बराबरको बीमाका लागि १ हजार रुपैयाँ र ५० हजारको बीमाका लागि ५ सय रुपैयाँ प्रिमियम तिरेर एकल बीमा गर्न सकिन्थ्यो । सामूहिक बीमालेखका लागि भने १ लाखको लागि ६ सय रुपैयाँ र ५० हजारको लागि ३ सय रुपैयाँ शुल्क तोकिएको थियो । यो संशोधनपछि कोरोना बीमाको शुल्क एउटै मात्र कायम भएको छ ।