सिन्धुपाल्चोक पहिरो : मृत्यु हुनेको संख्या ९ पुग्यो, अझै २२ जना बेपत्ता


सिन्धुपाल्चोक पहिरो : मृत्यु हुनेको संख्या ९ पुग्यो,  अझै २२ जना बेपत्ता

काठमाडाैं । बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नाै जनाको शव फेला परेको छ । अझै २२ जना बेपत्ता छन् । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् ।

मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् ।

उनीहरु एकै परिवारका हुन् वा फरक फरक परिवारका हुन् भन्ने अहिलेसम्म नखुलेको डीएसपी सापकोटाले जानकारी दिए ।

पहिरोमा परी अझै २२ जना बेपत्ता छन् । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डीएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको छ ।