क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित


क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइन्छ तर यस वर्ष  कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण  रथ तान्न स्थगित गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ ।

कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिए।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा   मनाइन्छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।