सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल विश्वविद्यालयले असोजबाट परीक्षा सञ्चालन गर्ने (सूचनासहित)


सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल विश्वविद्यालयले असोजबाट परीक्षा सञ्चालन गर्ने (सूचनासहित)

काठमाडाैं ।  कोरोना संक्रमणको महामारी र देशभर चलिरहेको निषेधाज्ञाका कारण सुदूरपश्चिमाञ्चल र पुर्वाञ्चल विश्वविद्यालयहरूले वैकल्पिक विधिबाट सञ्चालन गर्ने निर्णय गरेका हुन ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आईतबार सूचना जारी गर्दै आउँदो असोज महिनाबाट परीक्षा सञ्चालन हुने भएकाले सबै विद्यार्थीहरुलाई तयारीमा जुट्न आग्रह गरेको छ । सूचनामा असोजदेखि विद्युतीय माध्यमबाट परीक्षा सञ्चालन गर्ने निणर्य भएको जानकारी दिँदै विश्वविद्यालयले आफू अध्ययनरत क्याम्पस र विभागसँग सम्पर्क गरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई आग्रहग गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डा.गोविन्दसिंह विष्टले विश्वभर फैलिएको कोरोना संक्रमण कहिले हट्ने भन्ने अनिश्चत भएपछि शैक्षिकशस्त्र खेर जान नदिन अनलाईन परीक्षा गर्न लागिएको जानकारी दिए । अनलाईन परीक्षाका लागि विश्वविद्यालयले सिकाई व्यवस्थापन प्रणाली नामक सफ्टवेयर समेत निर्माण गरेको छ ।

सफ्टवेयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत ई-मेलमा प्रश्नपत्र पठाईने र परीक्षार्थीले तोकिएको समयभित्र उत्तरपुस्तीका स्क्यान गरेर ई-मेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनु पर्नेछ । रजिष्ट्रार विष्टका अनुसार अनलाईन परीक्षामा सहभागी हुन नेटवर्कको समस्या भएका विद्यार्थीहरुका लागि आईसिटी सेन्टरको स्थापना गरिने छ । आईसिटी सेन्टरको लागि ६ विभाग र १५ वटा क्याम्पसलाई आवश्यक बजेट पठाएर व्यवस्थापन लाग्न निर्देशन गरिएको उनले बताए ।

घरबाटै अनलाईन परीक्षामा सहभागी हुन नसक्ने परीक्षार्थीले आईसिटी सेन्टरमा गएर परीक्षा दिन सक्नेछन् । रजिष्ट्रार विष्टले अनलाईन परीक्षाका लागि तयारी गर्न विद्यार्थीलाई निर्देशन दिदैँ सहयोगका लागि सबै अभिभावक, बुद्धिजीवि, स्थानीय प्रशासन, समाजसेवीलगायतका सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

पुर्वाञ्चल विश्वविद्यालय

यसै गरी सोमबार बसेको पुर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले स्नातक र स्नातकोत्तर तहको परीक्षाहरु वैकल्पिक विधिबाट सञ्चालन गर्ने निर्णय गरेको हो । सेमेष्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमितर्फका स्थगित र सञ्चालन हुन बाँकी परीक्षाहरु असोज पहिलो साताबाट गर्ने विश्वविद्यालयले जनाएको छ ।  परीक्षा हुने भएपछि विश्वविद्यालयले आफू अध्ययनरत क्याम्पसमा सम्पर्क गर्न विद्यार्थीहरुलाई अनुरोध गरेको छ । परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार परीक्षा कार्यक्रम र परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका केही दिनमा सार्वजनिक गरिनेछ ।

साथै वार्षिक तर्फका (नियमित/आंशिक) र सेमेष्टर तर्फका आंशिक परीक्षाहरु प्राज्ञिक परिषदको निर्णय पछि मात्र सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।