‘नेपाल आइडल’ सिजन–३ ’ को फाइनल आज: को बन्ला नेपाल आइडल ?
काठमाडौं । एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ सिजन–३ को फाइनल आज (शुक्रबार) हुने भएको छ । कोरोनाका कारण यो पटक फाइनल पनि ‘नेपाल आइडल’को स्टुडियोमै हुने छ ।
सिजन ३ अन्तर्गतको यो रियालिटी शोको फाइनल चैत्र महिनामै सकिने भए पनि कोरोना भाइरसका कारण पछाडि धकेलिएको थियो ।
एपिवान टेलिभिजनबाट आज बेलुका ८ बजे लाइभ प्रसारण हुने यो रियालिटी शो मा उत्कृष्ट ३ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन् ।
उत्कृष्ट ३ मा पर्न सफल महोत्तरीका किरण भुजेल, मोरङकी सज्जा चौलागाईं र बर्दियाका प्रवीण भेटवालबीच प्रतिस्पर्धा हुनेछ ।
हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।