असार २३ !!! राजा ज्ञानेन्द्र शाहमा शुभकामना : भाग्य र भबिश्य


असार २३ !!! राजा ज्ञानेन्द्र शाहमा शुभकामना : भाग्य र भबिश्य
अहिले हरेक नेपालीको जिब्रोमा झुण्डिएको नाम स्व: राजा महेन्द्र बि.बि. शाह हो, जसले नेपालको आधुनिक बिकासक्रमको सुरुवात गरेका थिए । यिनै राजा महेन्द्र र बडामहारानी ईन्द्र राज्यलक्ष्मी देवी शाहको कोखबाट बि.सं. २००४ साल असाढ २३ गते आजकै दिन चौथो सन्तानका रुपमा नारायणहिटीमा जन्मेका श्री ५ महाराज ज्ञानेन्द्र शाहलाई हृदयदेखि नै जन्मदिनको लाखौंलाख शुभकामना टक्र्याउदछु !!! 

क्षमा चाहन्छु, मैले यहाँ सम्बोधनमा "पूर्व राजा" शब्द चयन गरेको छैन । अर्को नया राजा नहुन्जेल ज्ञानेन्द्र शाह लाइ किन पूर्व राजा भन्नु ? या त अहिले कुनै राजा भए "पूर्व राजा" भन्नु स्वाभाविक हो । देश र जनताको लागि राजगद्दी त्याग गरेकोले "त्यागि राजा" सम्बोधन गर्न सकिन्छ - पंतिकारको स्वतन्त्र धारणा भनेर बुझ्नुहोला ।  
तत्कालिन महाराज श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाह नेपालको शाहबंशीय राज-काजको प्रकृया अनुरुप कुनै पनी कोणबाट देशको राजा हुने बरियता क्रमका ब्यक्त्तिव होईनन ।
 
नेपाली ईतिहाॅसमा दुईपटक राजा भैसकेका यिनै महाराज ज्ञानेन्द्र शाह गणतन्त्र स्थापना भए यता सर्बसाधारण नागरीक सरह नेपाली माटोमै बसेका छन,  तर पनी नेपाली राजनितीमा बेला-बेला अनायासै यिनको नाम जोडिने गर्दछ र बिवादमा तानिने साथै मिडियामा छाउने गर्दछन ।  भबिस्यमा के हुन्छ, त्यो कसैले देखेको हुदैन, तर पनी हाम्रै ॲाखा अगाडी राष्ट्र प्रमुख भएका अर्थात २४० बर्ष लामो ईतिहाॅस बोकेको शाहबंशीय बिरासत थामेका राजा सब थोक गुमाएर वा त्यागेर सर्व-साधारण नागरीक सरह भैसक्दा पनी आम मानिसले थाहा नपाएका यिनका केही भाग्य र भविस्यका कथा केलाउने प्रयास गर्दैछु ।  
 
ज्ञानेन्द्र शाह राजा हुनु पूर्व यिनका दाजु श्री ५ बिरेन्द्र शाह यो देशका राजा थिए । बि.स. २०५८, जेष्ठ १९ गते दाजुको स-परिवार र भाई धीरेन्द्र शाहलाई दरबार हत्याकाण्डमा गुमाउनुको पिडाको बिचबाट माथि उठेर नेपाल राज्यको राजा बनेर अढाई करोड नेपाली जनतालाई अविभाकत्व प्रदान गरेका थिए । 
 

राजा हुने बरियतामा नपरे पनी यो देशको दुई पटक राजा बन्ने सौभाग्य प्राप्त गरेका राजा ज्ञानेन्द्रको भाग्य सरसर्ति हेर्दा निकै बलियो र निकै कमजोर रहेछ भन्ने ठम्याई यो पंतिकारको छ । धेरै भाग्यमानी भन्नुको कारण हो – दुई-दुई पटक यो देशको राजा भई शाहबंशीय ईतिहाॅसमा नाम लेखाए तथा धेरै अभागी यो मानेमा कि यिनैको कार्यकालमा नेपालमा गणतन्त्र स्थापना भई राजतन्त्रको बिधीवत अन्त्यको घोषणा गरीयो । यद्धपी नेपालको अस्थिर राजनैतिक अबस्था र दलका नेताहरुको बिकृत कार्यशैलीले गर्दा करोडौ नेपाली जनतामा  राजा ज्ञानेन्द्र शाह र शाहबंशीय राजसंस्था प्रतिको चहाना उच्चरुपमा पुनराबृत्ती हुनुले यिनको भविस्य पनी बलियो नै भएको अनुमान लगाउन सकिन्छ । 

राजा ज्ञानेन्द्रको भाग्य कति बलियो रहेछ वा थियो भन्ने बिषयमा कुरा गर्नु पर्दा छोटकरीमा यिनी अघिका शाह बंशलाई केलाउनु पर्दछ । साॅच्चिकै यिनको भाग्य बलियो नभएको भए पृथ्वीनारायण शाहले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी जेठी महारानी ईन्द्र कुमारी सेन हुॅदाहुदै काॅशी बाट अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीलाई बिहे गर्दैन थिए र प्रतापसिंह शाहको जन्म हुनेथिएन र शाहबंशीय राज्य सत्ता राजा ज्ञानेन्द्रको पुस्ता सम्म आउने थिएन । 
 
हुन त एउटा राजाले धेरै रानी बिवाह गर्नु,  मन परेकी रानीबाट जन्मेका राजकुमारलाई राजा बनाउनु र राज-काजको रोलक्रम मिच्नु त्यो बेलाका शाहबंशीय राजाहरुका लागी सामान्य कुरा थियो साथै तत्कालिन समय अनुरुपको एक चलन थियो भन्न सकिन्छ । अझैं राजा ज्ञानेन्द्र शाहको भाग्य कति बलियो थियो भन्ने बारेमा चर्चा गर्नै पर्दा पृथ्वीनारायण शाह पछी उनका छोरा प्रतापसिंह शाह र उनका पनी छोरा राजा रणबहादुर शाहको पालामा भएको किचलो हेर्दा पो कसरी बाल-बाल बचेर राजा ज्ञानेन्द्रको पुस्ता राजा भएछन भन्ने लाग्दछ । जुन जिउदो इतिहास मान्न सकिन्छ । 
 
राजा रणबहादुर शाहको बारेमा इतिहास केलाउदा नेपालको शाहबंशीय राजाहरु मै नालायक राजा हुन भन्दा फरक पर्दैन । उनका श्रीमतीहरु मात्र पाॅचवटी थिए । यौन आशक्ति र उत्ताउला राजाका रखौटि र सुसारे नानीहरु जो उनको यौन प्यास बुझाउने त सयौंको संख्यामा थिए भनी बिभिन्न लेखक तथा ईतिहाँसकारहरुले पनी आफ्ना पुस्तकहरुमा लेखेको पाईन्छ । यि भन्दा अघिका राजा छोटो समयमै अकालमा मृत्यु भएकोले राज्य शक्ति महारानीहरुमा निहित हुन पुग्यो साथै त्यो समयमा पनी नोपाल एकीकरण अभियान बाॅकी नै रहेकोले सैन्यशक्तिका लागी सुरबिर नेतृत्व एक पछी अर्को थापा, पाॅण्डे र बस्न्यात  खलकको खिचातानीको राजनितीमा दरबार रुमल्लिन पुग्दछ । 

तिनिहरु संगै महारानीहरु आ-आफ्ना छोरा राजकुमारहरुलाई भावी राजा बनाउने दाउमा लाग्दछन । राजा रणबहादुरकी जेठी  रानी राजराज्यश्वरी बाट एक राजकुमारी मात्र थिईन । माईली रानी शुवर्ण प्रभा बाट जेठा युबराज रणोधत बिक्रम शाह, कान्छा अधिराजकुमार समरसेर बिक्रम शाह र एक राजकुमारी थिईन । साहिली रानी  कान्तीमतीबाट अधिराजकुमार गीर्बाणयुद्व बिक्रम शाह जन्मिएका थिए भने काहिली रानी चन्द्रवती हुन । कान्छी रानी ललित त्रिपुरासुन्दरी देवी शाह काजी नयनसिंह थापाकी छोरी प्रधानमन्त्री माथवरसिंह थापाकी दिदी साथै नेपालको ईतिहाँसमा चर्चित पात्रको रुपमा हेरीने प्रधानमन्त्री भिमसेन थापाकी भतीजी थिईन । यसरी हेर्दा जेठी रानीबाट छोरा नै नभएका र राज-काजको रोलक्रम अनुसार माहिली रानी बाट जन्मेका युबराज रणोधत बिक्रम शाह सरासर राजा हुनु पर्नेमा तत्कालिन राजा रणबहादुर शाहले साहिली रानीबाट जन्मिएका अधिराजकुमार गीर्बाणयुद्व बिक्रम शाहलाई राजा बनाए । यो नै पहिलो ठुलो सौभाग्य मान्न सकिन्छ राजा ज्ञानेन्द्रको राजा बन्ने भाग्य र भविस्यका लागी !  सोचौं त यदि युबराज रणोधत बिक्रम शाह राजा भएको भए ज्ञानेन्द्र शाह कुन सामान्य घरानाका साहेवज्यु भएर बसेका हुन्थे ? 

 
यस्तै राजा ज्ञानेन्द्र शाहको भाग्य र भविस्य संग जोडिएको अर्को कुरो, राजा सुरेन्द्र शाहको पालामा प्रधानमन्त्री भिमसेन थापाको निर्देशनमा महारानी साम्राज्यलक्ष्मी देवी शाहलाई बिष खुवाई मार्ने योजना अन्तरगत त्यो बिष भुलबस बालक अधिराजकुमार उपेन्द्र बिक्रम शाह (राजा सुरेन्द्रका कान्छा भाई) को भागमा परी मारिएको भन्ने झुट्टा आरोप लगाई भिमसेन थापाको पतन पाॅण्डे खलकले गराएपछीको दरबारिया किचलो मामलाका बिचमा राजा राजेन्द्रकी कान्छी महारानीले आफ्ना अधिराजकुमार रणेन्द्र बिक्रम शाहलाई ‘नानी महाराज’ घोषणा गराई राजा सुरेन्द्रलाई सत्ताच्युत गर्ने र  नेपालको राजा बनाउने उदेश्य झण्डैं-झण्डै सफल भएन । यो पनी राजा ज्ञानेन्द्र शाहको राजा बन्ने भाग्य मात्र होईन, अहोभाग्य नै होकी भनेर मान्न सकिन्छ ।  
त्यस्तै पछील्लो पुस्तामा पनी राजा सुरेन्द्रकी महारानी त्रैलोक्य राज्यलक्ष्मी देवी शाहले आफ्ना जेठा छोरा युबराज त्रैलोक्य बिक्रम शाह ३० बर्षकै उमेरमा राजा हुन नपाई मृत्यु भए पछी आफ्ना पति राजा सुरेन्द्रको मृत्यु पस्चात नाति युबराज पृथ्वी बिरबीक्रम शाहलाई राजा नबनाई आफ्नै कान्छा छोरा अधिराजकुमार नरेन्द्र बिक्रम शाहलाई राजा बनाउन खेलेको कदम पनी कम्ता खतरनाक थिएन । यदी पृथ्वीबीर बिक्रम शाह राजा नभएको भए पनी सोचौंत राजा ज्ञानेन्द्र शाहको भाग्य र भविस्य ? त्यसैले त म राजा ज्ञानेन्द्र शाह असाध्यै भाग्यशाली राजा हुन भन्दछु । 
 
राजा पृथ्वी बिरबीक्रम शाहकी चारवटी रानी मध्ये माहिली रानी दिव्यश्वरी राज्यलक्ष्मी देवी शाहबाट जन्मेका युबराज राजा बनेका छन । जो राजा त्रिभुवन हुन । यसरी हजुरबुवा राजा त्रिभुवन २००७ सालमा भारत निर्बासित हुॅदा करिव साढे तिन बर्षकै उम्मेरमा माहिला नाति ज्ञानेन्द्र पहिलो पटक नेपाल राज्यको श्रीपेच पहिरीएर गद्धीआरोहण गरी केही महिना राजा हुने सौभाग्य पाएका थिए । त्यो समयमा र त्यो भन्दा अगाडी पनी राणाहरु सत्ता र शक्तिमा थिए, उनीहरुले चाहेको भए शाहबंसिय राजसंस्थालाई कुनै पनी समयमा  निमीठ्यान्न पार्न सक्थे, तर राणाहरुले कहिले पनी त्यस्तो कुदृष्टि राखेनन । नेपालको सनातन धर्म र राजसंस्थालाई सम्मान पूर्वक नै राखेका थिए ।  यो पनी उनको पुस्ता सम्म राजबंश आईपुग्नुमा महत्वपुर्ण कुरा हो । त्यसैले राजा ज्ञानेन्द्र शाहलाई कसरी भाग्यमानि नठान्ने ? 
 

यसरी शाहबंशको ईतिहाॅस सुक्ष्मरुपमा केलाएर हेर्दा राजा ज्ञानेन्द्र असाध्यै भाग्यशाली मानिन्छन । अझैं यिनी भाग्यशाली भन्दा धेरै शौभाग्यशाली, धैर्यवान र उच्च तहको सहनशिलता भएका मृदुभाषी र भलाद्मी पन साथै यिनमा टाढै बाट हेर्दा पनी भद्रपन झल्किने चमत्कारिक ब्याक्तित्व छ ।

‘राजा भन्या राजै’ हो भन्ने जनबोलीलाई केलाएर हेर्नुहोस त साॅच्चीकै राजा भनेको के हो ? राजा बन्न के के योग्यता र ब्याक्तिगत गुणको आबस्यकता पर्दछ । देश र जनताको दु:खलाई नजिकबाट महसुस गर्न सक्ने खुबि यिनको पुस्तैनी रगतमा भएको गुण हो । राजा ज्ञानेन्द्रले सायद यस्तै गुण र ब्यवहार आफ्नो कार्यकालमा देखाएको भए राजसंस्था यति छिट्टै बहिर्गमन हुने थिएन की भन्छन केही राजनैतिक बिश्लेषकहरु । राजा वा राजसंस्था आफैमा खराव थिएन र छैन पनी,  बिगतको ईतिहाॅस हेर्दा नै स्पस्ट हुन्छ । बरु राजाका वरपर बसेका बिभिन्न सल्लाहाकारहरुको समुह ठिक थिएन । आफ्नी बुहारी युबराज्ञी हिमानी शाहाद्वारा संचालीत ‘हिमानी ट्रष्ट’ आज देशका जनताको सुरक्षा र सेवामा अहोरात्र सामाजिक कार्य गर्दै खटेको छ । जसलाई राजा ज्ञानेन्द्रले भरपुर सहयोग गरेका छन।  कुनै पनी समयमा देश र जनता रोएको बेला, जस्तै २०७२ सालको महा-भुकम्पमा होस या हाल बिश्वनै आक्रान्त पारीरहेको कोरोना-महामारीमा होस, राजनैतिक दल र नेताहरु भन्दा दुईकदम अगाढी बढेर देश र जनताको दुखेको घाउमा मलम लगाउन पुग्दछन ।
 
भविस्यवाणी गर्ने धेरै ज्योतिषहरुले राजा ज्ञानेन्द्र पुन: तेस्रो पटक यो देशको राजा हुने छन पनी भनेका छन । उमेरले ७३ बर्षमा हिडीरहेका बृद्व राजामा धर्मकर्ममा खुबै रुची छ । त्यसैले त्यस्ता सामाजिक र धार्मिक कार्यहरुमा निर्बाध रुपले आफ्नी महारानी कोमललाई लिएर देशका हरेक कुना-काप्चामा जाॅदा जनताहरुले देखाएको उनि प्रतिको आथित्य वा आदर भावलाई हेर्दा राजसंस्था नेपाली जनताको ईच्छाले बिस्थापित गरेको होईन भनी सामान्य मानिसले पनी सहजै अनुमान लगाउन सक्छ ।
अहिलेको कोरोना महामारीको समयमा नेपाल सरकारले सबैबाट सक्दो सहयोगको आशा गरेको समयमा स्वस्फुर्त अघि सरेर राजा ज्ञानेन्द्र शाहले २ करोड सहयोग रकम प्रदान गरे साथै हिमानी ट्रष्ट मार्फत विभिन्न सहयोग गरिरहे। यहि बिषयलाई नियाल्ने हो भने नेपालकै ठुला ठालु व्यापारीहरुले सरकारलाई सहयोग गर्न कन्जुस्याई गरेको देखियो र केहिले त सरकारलाई किन सहयोग गर्नु भन्ने सम्मका लल्जास्पस्द कुरा गरेको देखियो ।
 
पछिल्लो समय सामाजिक सन्जाल ट्विटरमा सकृय देखिने राजा ज्ञानेन्द्रका कालापानि-लिपुलेक र लिम्पियाधुरामा भएको नेपाल-भारत सिमा-बिवादका बिषयमा गरीएका ट्विटले उनमा यो देश र जनता प्रति र आफ्ना पिता-पुर्खाले आर्ज्याको मुलुकको माटो र यसको एक ईन्ची जमिन किन नहोस यो देशको सिमा प्रति कति धेरै आघाध देशप्रेम झल्किन्छ । राष्ट्रप्रेम र राष्ट्रियता भन्ने पढेर वा सिकाएर जानीने र जगाउछु वा कसैलाई बलजफ्ती जगाउ भनेर जाग्ने चिज हो र ?
 

यो त आफै तन, मन र मस्तिष्क बाट सिर्जित भै भक्तिभावबाटै जाग्ने कुरा हो । त्यो केवल यि राजामा छ, अनि सच्चा राष्ट्रभक्त नेपाली जनतामा छ । त्यसैले त राजा भन्या राजै हो…..!!!!  त्यसैले त यिनको भाग्य र भविस्य अझैं सुन्दर देख्छु म ।



बिबेक चन्द ठकुरी 
मध्यपश्चिम नेपाल


(निकै अनुसन्धानात्मक तथा ऐतिहासिक खोजमुलक आलेख “बिबेक चन्द ठकुरी” को व्यक्तिगत धारणामा आधारित रहेको छ।)


-निरन्तर रुपमा प्राप्त उहाका समसामयिक तथा बिश्लेसणात्मक लेख रचनाको लागि लेखापढी मिडिया हार्दिक आभार ब्यक्त्त गर्दछौ ।