मेरो देश ऋण बाेकीरहेछ


मेरो देश ऋण बाेकीरहेछ
जब फूलमाला र अबिरको जात्रामा 
रमाएका अनुहार हेर्छु
तिनका अनुहारको कान्ति र
मनोविज्ञान पढ्छु
यति निश्चिन्त र गौरवान्वित देखिन्छन्
मानौं, कुनै कीर्तिमान कायम गरेका छन्
मानौ, दुश्मनसँग युद्धमा 
विजयी भएका छन्
यहाँ, बस्छन् एकथरी यस्ता पनि मान्छे 
जो वर्षौंदेखि यही सोचिरहेका छन्
‘बेचिएका प्रत्येक खोलानालामा’
‘मिचिएका हरेक सिमानामा’
“मेरो देश ऋण बोकिरहेको छ।”
 
जसले खाएको पनि देशले तिर्नुपर्छ 
जसले लाएको पनि देशले बुझाउनुपर्छ 
जसको ओखतोमूलो सबै देशले बेहोर्नुपर्छ
जसका शाखा-सन्तान, 
चम्चे, धुपौरे सबैलाई देशले पाल्नुपर्छ
 
जब खादामा, दोसल्लामा सजिएका
तिनै अनुहार देख्छु
तिनका अनुहारको कान्ति 
र मनोविज्ञान पढ्छु
यति निश्चिन्त र गौरवान्वित देखिन्छन्
मानौ, तिनले देशलाई ठूलो गुन लगाएका छन्,
यहाँ, बस्छन् एकथरी यस्ता पनि मान्छे 
जो वर्षौंदेखि यही सोचिरहेका छन्
‘खाएका प्रत्येक गासमा’
‘सुस्ताएका हरेक पलमा’
“मेरो देश ऋण बोकिरहेको छ।”
 
जसले गर्दा युवा अरब र खाडी पुगेकाे छ,
मुग्लानमा चेलीबेटीको अस्मिता लुटिदैछ,
सरकारी अस्पतालको डाक्टर 
निजी क्लिनिकमा बिरामी बोलाउँछ
सरकारी स्कुलकाे मास्टर 
पार्टीकाे आमसभामा भाषण ठोक्छ
चोर-पुलिस मिलेर सचिवालय चलाउँछन् 
जिउँदै मान्छे जलाउनेहरु ‘माननीय’ हुन्छन
 
जब सार्वजनिक अभिनन्दन भएका
र करोडौं दामले पुरस्कृत
तिनै अनुहार देख्छु
तिनका अनुहारको कान्ति 
र मनोविज्ञान पढ्छु
यति निश्चिन्त र गौरवान्वित देखिन्छन्
मानौ, तिनले जनतालाई ठूलो ‘उपकार’ गरेका छन्,
यहाँ, बस्छन् एकथरी यस्ता पनि मान्छे 
जो वर्षौंदेखि यही सोचिरहेका छन्
‘विदेसिएका युवाको जवानीमा’
‘अहिलेका नाबालक सन्ततिहरुको भोलिमा’
“मेरो देश ऋण बोकिरहेको छ।”
 
म आफ्नै छोराको अनुहार हेर्छु
र झस्किन्छु
अनि, मनमनै सोच्छु
छोरा ! तेरो स्कुलको ‘बस्ता’मा र ‘टिफिन’मा पनि 
“तेरो देश ऋण बोकिरहेको छ ।”

हेमबाबु लेखक
महेन्द्रनगर, सुदूरपश्चिम


“Thank you for your valuable time”
www.lekhapadhi.com
Please email us your creativity at-  lekhapadhi@gmail.com