तनहुमा क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा सुरुवालको पासो लगाई आत्महत्या


तनहुमा क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा सुरुवालको पासो लगाई आत्महत्या

तनहुँ, असार १० गते । तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालका अनुसार आफू बस्दै आएको क्वारेन्टिनको कोठाको पँखामा ट्रयाकसुट च्यातेर झुन्डिएको अवस्थामा उनलाई फेला परेको हो । उनले भने, ‘राति करिब ८ बजेको समयमा खानाका लागि बोलाउने जाने क्रममा उनी बसेको कोठा भित्रबाट लक गरेको रहेछ । झ्याल खोलेर हेर्दा उनी पँखामा झुन्डिएको अवस्थामा क्वारेन्टिनमा बसेकाहरुले देखेपछि हामीलाई खबर भयो । उनले आफैंले लगाएको ट्रयाकसुट च्यातेर पंखामा झुन्डिएका रहेछन् ।’

शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्दैआएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

“ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उहाँले भन्नुभयो, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरुपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”

हाल उक्त क्वारेन्टाइनमा चार जना बाँकी छन् । एजेन्सी