प्रचण्ड र ओली बीच चर्कियो बिबाद, पार्टी स्थायी कमिटी बैठक स्थगित


प्रचण्ड र ओली बीच चर्कियो बिबाद, पार्टी स्थायी कमिटी बैठक स्थगित

काठमाडौँमा बुधबार देखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् ।

सरकारलाई असफल बनाउने प्रयत्न हुनु स्वभाविक भएको बताउँदै प्रचण्डले भने, ‘सरकारले राम्रो काम गर्न नसक्नुको मुख्य कारण आन्तरिक नै हो ।’ साम्यवादमा पुगेपछि पार्टी नचाहिने भन्ने आफूहरुको विश्लेषण भए पनि अहिले नै पार्टी विलीन हुने अवस्था आएको प्रचण्डले बताएका छन् । ‘गुटहरु छन् तर पार्टी छैन जस्तो भएको छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले बताए ।

विदेशी शक्ति र देश भित्रैका शक्तिहरु पार्टी र सरकार भत्काउन लागेका छन् भन्ने प्रधानमन्त्रीको भनाईलाई खण्डन गर्दै दाहालले भनेका छन्, ‘पार्टी र सरकार कमजोर हुनुमा बाहिरी वा देश भित्रेका प्रतिक्रियावादीलाई दोष दिएर हुँदैन । पार्टी र सरकारमा जे समस्या आएको त्यसको जिम्मेवार हाम्रो पार्टीभित्रैका हौं,’ दाहालको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘त्यसकारण पार्टीमै छलफल हुनुपर्छ । खासगरी हामी दुवै अध्यक्षको कमजोरीका कारण समस्या आएको हो । अरुका पनि होलान् । यसलाई सुधार्नुपर्छ, आत्मालोचना गर्नुपर्छ ।’

 पार्टी स्थायी कमिटी बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ ।