बयलपाटा अस्पतालको गेटमा आत्मदाह प्रयास गर्ने युवकको मृत्यु


बयलपाटा अस्पतालको गेटमा आत्मदाह प्रयास गर्ने युवकको मृत्यु

२६ जेठ, काठमाडौं । सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका अछाम बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा सफाइ मजदुरका रूपमा कार्यरत अछाम साँफेबगर–६का सिद्धार्थ आउजीले सोमबार बिहान आत्मदाहको प्रयास गरेका थिए ।

शरीरमा पेट्रोल छर्किएर आगो लगाएका उनलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो । उपचारका क्रममा सोमबार अपराह्न निधन भएको अछामको सहायक प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादवले बताए ।

‘अस्पताल दिउँसो साढे ३ बजे पुगेका हौं । ४ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको हो,’ उनले भने । उनका अनुसार एक वर्षअघि सिद्धार्थले खाडी मुलुकमा जाने तयारी गरेका थिए । घर नजिकैको बयालपाटा अस्पतालमा चर्पी सरसफाइ गर्नका लागि विज्ञापन खुलेपछि उनले निवेदन दिएर काम पाएका थिए ।

अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए । ‘अस्पतालबाट हटाइएको बेलादेखि नै उनी मानसिक तनावमा थिए । फेरि अस्पतालले काम दिन्छ कि भनेर जाने गरेका थिए ।’ उनका छिमेकीसमेत रहेका बोहराले भने ।

“त्यही कारण हो कि अरू कारणले उनले आत्मदाहको बाटो रोजेका हुन्, खुलेको छैन । नखुली भन्ने कुरा पनि भएन,” उनी भन्छन् ।

उनले प्रहरीले अनुसन्धान गरिरहेको पनि बताए ।


Source: Support of News Agency