कोरोना भाइरस नेपाल: ३६५ जनाले जिते कोरोना, सङ्क्रमितको कुल सङ्ख्या ३,२३५, मृत्यु हुनेको संख्या १३ पुग्यो


कोरोना भाइरस नेपाल: ३६५ जनाले जिते कोरोना, सङ्क्रमितको कुल सङ्ख्या ३,२३५, मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालमा विगत २४ घण्टामा थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,२३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ ।

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

 
डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। जेठ २१ गते मध्यरातपछि मृत्यु भएका ५८ वर्षीय पुरुषबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनभाइरस देखिएको हो। उनी दमको रोगी भएको बताइएको छ। ती व्यक्ति जेठ १६ गते सुर्खेतबाट फर्किई क्वारन्टीनमा बसेका थिए। धनगढीमा मिर्गौलाको समस्या भएकी ५५ वर्षीया महिलाको डाईयालिसिसको क्रममा मृत्यु भएको र पछि परीक्षण गर्दा उनमा कोरोनाभाइरस देखिएको डा. देवकोटाले बताए। तर उनमा पहिला कोभिड-१९ को कुनै लक्षण नदेखिएको बताइएको छ।

कोरोना निको भएर घर फर्किनेको संख्या ३६५

 शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएका छन । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।