कोरोना भाइरस लक्षण: यूकेका बालबालिकामा ‘दुर्लभ र खतरनाक लक्षण’


कोरोना भाइरस लक्षण: यूकेका बालबालिकामा ‘दुर्लभ र खतरनाक लक्षण’

विविसि नेपाली

ब्रिटेनमा चिकित्सकहरूलाई बालबालिकामा देखिन थालेको कोरोनाभाइरस वा अन्य सङ्क्रमणसँग सम्बन्धित हुनसक्ने दुर्लभ तर खतरनाक लक्षणहरूप्रति सचेत रहन निर्देशन दिइएको छ।

यूकेको राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली, न्याश्नल हेल्थ सर्भिसेजका चिकित्सकहरूलाई बालबालिकामा कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित हुनसक्ने भन्दै एक प्रकारको ‘दुर्लभ तर खतरनाक’ लक्षणप्रति सावधान हुन निर्देशन दिइएको छ।

चिकित्सकहरूलाई पठाइएको महत्त्वपूर्ण पत्रमा लन्डन र यूकेका अन्य भागका अस्पतालहरूमा गम्भीर बिरामी भएर सघन उपचार कक्ष, आईसीयूमा उपाचाररत बालबालिकामा अनौठो लक्षण देखिएको बताइएको छ।

तिनमा रुघाखोकीका जस्ता लक्षणसँगै शरीरका विभिन्न अङ्गमा पीडा हुने गरेको पाइएको छ।

तीमध्ये केही बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

सङ्ख्यात्मक रूपमा त्यस्तो लक्षण देखाउने बालबालिकाहरू कमै भएपनि कति जनामा त्यस्तो लक्षण देखियो भन्ने स्पष्ट छैन।

एनएचएस इङ्ग्ल्यान्डका स्वास्थ्य निर्देशक स्टीभन पाविसले बालबालिकामा गम्भीर तर दुर्लभ लक्षणहरू देखिएको विवरणहरू आएको बताए।

“विगत केही दिनमा त्यस्ता विवरणहरू आउन थालेका हुन्। हामीले हाम्रा विज्ञहरूलाई यो विषयमा आपत्कालीन अध्ययन गर्न भनेका छौँ।”

चिकित्सकहरूलाई पठाइएको पत्रमा कोरोनाभाइरससँग सम्बन्धित हुनसक्ने अथवा हालसम्म पत्ता नलागेको त्यस्तै अन्य सङ्क्रमणका कारण हुने दुखाइका लक्षण भएको समस्याबारे चिन्ता बढिरहेको बताइएको छ।

कस्ता लक्षण देखियो?

विभिन्न उमेर समूहका बालबालिका भए पनि त्यस्ता लक्षण देखिएकाहरू गम्भीर बिरामी परेको बताइएको छ। उनीहरूलाई उच्च ज्वरो आउने, रक्तचाप कम हुने, जीउमा डाबर देखिने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।

केहीमा पेट दुख्ने, वाकवाकी लाग्ने वा दिसा लाग्ने जस्ता समस्या पनि देखिएको छ।

विज्ञहरूले यस्ता लक्षण शरीरले सङ्क्रमणसँग सङ्घर्ष गर्न गाह्रो हुँदा देखिने बताउँछन्।

चिकित्सकहरूलाई त्यस्ता लक्षण देखिएका बालबालिकाहरूलाई तुरुन्त उपचार आवश्यक पर्ने बताइएको छ।

तर विज्ञहरू विश्वभरिको तथ्याङ्क हेर्दा थोरै मात्र बालबालिका कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर बिरामी पर्ने बताउँछन्।

केम्ब्रिजस्थित बाल सघन उपचार चिकित्सक डा. नाजिमा पठानका अनुसार स्पेन र इटलीका चिकित्सकहरूले पनि त्यस्तै लक्षण देखिएको बताएका छन्।

“बिरलै लाग्ने रोगहरूमा देखिने यस्ता लक्षणहरू बालबालिकाहरूमा दुर्लभ हो,” उनले भनिन्।

“समग्रमा कोरोनाभाइरसका कारण बालबालिकाहरूमा फोक्सोको सङ्क्रमण कम देखिएको छ र अहिलेसम्म सघन उपचार कक्षमा भर्ना भएका बालबालिकाहरूको सङ्ख्या कम छ।”

एनएचएसले यूकेमा २० भन्दा कम बालबालिकामा यस्तो लक्षण देखिएको बताउँदै अध्ययन हुने तर अहिलेसम्म यसको कोरोनाभाइरससँग कुनै स्पष्ट सम्बन्ध नदेखिएको बताएको छ।

के भए तुरुन्त उपचार खोज्ने?

बालबालिकामा कोरोनाभाइरस सङ्क्रमण हुने भए पनि त्यसले बिरलै गम्भीर स्वरूप लिने गरेको छ। बालबालिकाहरू बिरामी भए त्यो कोरोनाभाइरसको भन्दा पनि अन्य कारणले हुने सम्भावना धेरै हुन्छ।

ब्रिटेनस्थित रोयल कलेज अफ पीडीयाट्रिक्स एन्ड चाइल्ड हेल्थले बालबालिकामा निम्न लक्षण देखिएमा तुरुन्त आपत्कालीन उपचार खोज्न सुझाव दिएको छ:

– शरीर पहेँलो देखिएमा वा शरीर छुँदा अन्य समयभन्दा चिसो भएमा

– सास फेर्दा रोकिएर फेरेको जस्तो महसुस भएमा वा श्वासप्रश्वास अस्वाभाविक भएमा

– ओठ नीलो देखिएमा

– काम्ने गरेमा

– फकाउनै नसक्नेगरी रुने वा आँखा खोल्न अल्छी जस्तो भएमा

– थिच्दाखेरी नबिलाउने खालका बिमिरा आएमा

– बालकहरू, विशेषगरी किशोरहरू, को अण्डकोष दुखेमा

साभारः विविसि नेपाली 

थप जान्न र पढन् कोरोना भाइरस लक्षण: यूकेका बालबालिकामा ‘दुर्लभ र खतरनाक लक्षण’