कोरोना भाइरस: उदयपुरमा थप ११ सहित संक्रमितको संख्या ४२ पुग्यो


कोरोना भाइरस: उदयपुरमा थप ११ सहित संक्रमितको संख्या ४२ पुग्यो

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबारमात्रै थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुर जिल्लामा मात्र कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेर २४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमितहरु उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका १२ जनाको संसर्गमा आएका व्यक्तिहरु हुन्।

त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

कोरोना संक्रमण तेस्रो चरणमा

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।

मंगलबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२पुगेको छ भने ती मध्ये ५ जना निको भएर घर फर्किसकेका छन्। परीक्षणको दायरा बढाइएसँगै संक्रमितको संख्या पनि बढेको देखिन्छ। नेपालमा मंगलबारसम्म आरडीटी र पीसीआर विधिबाट ३६ हजार ७ सय १९ जनाको परीक्षण भइसकेको छ।

लेखापढीः एजेन्सीकाे सहयाेगमा